चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका परिवार अझ सबल र सक्षम बन्दै गएको छ” भन्दै उत्कृष्ट कार्यसम्पादनको अपेक्षा राखे।

नयाँ कर्मचारीहरुलाई अविर, आवरण दोशल्ला तथा मालाले सम्मानपूर्वक स्वागत गरिएको थियो। कार्यक्रममा उपप्रमुख ईश्वरी शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।