रुकुम पश्चिम, गोपाल खड्का
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सानीभेरी गाउँपालिकामा हुने भएको छ।
गाउँपालिकाको सभाहलमा आउँदो मंसिर २२ गते सोमबार बिहान १०:०० बजेदेखि सुरु हुने कार्यक्रमबारे गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको छ।
कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सबै शाखा प्रमुखहरू, गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)का अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समिति लगायतका स्थायी प्रकृतिका उपभोक्ता समितिका पदाधिकारीहरू, संघीय, प्रादेशिक तथा स्थानीय तहका कार्यालय प्रमुखहरू, स्थानीय सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।
अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सहजीकरण गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन रेग्मीले जानकारी दिएका छन्।
“समाजवाद उन्मुख समृद्धिको पहिलो आधार– उत्पादन र पूर्वाधार सहितको शिक्षा, स्वास्थ्य तथा रोजगारी” भन्ने नाराका साथ सुशासन, पारदर्शिता, जवाफदेहिता तथा भष्ट्राचार नियन्त्रणका विषयमा कार्यक्रम केन्द्रित रहने जनाइएको छ।
सानीभेरी गाउँपालिकाले उक्त कार्यक्रममा स्थानीयवासीहरूको सहभागिताका लागि अनुरोध समेत गरेको छ।
