रुकुम पूर्व — जिल्लाको सिस्ने गाउँपालिका–३ पोखरागाउँका ७ वर्षीय प्रतुस केसीको जीवन रक्षा गर्न नेपाली सेनाको हेलिकोप्टरसम्म उडान भरिएको छ। बिहीबार दिउँसो आफ्नै घरको बार्दली (भ¥याङ) नजिक खेलिरहेको बेला अचानक चिप्लिएर करिब सात फिट उचाइबाट खसेपछि प्रतुस गम्भीर घाईते भएका थिए।

खस्दा उनको दाहिने खुट्टाको घुँडामाथि रहेको हड्डी भाँचिएको र शरीरका अन्य भागमा समेत चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। प्रारम्भिक उपचारका लागि स्थानीयले उनलाई तत्काल जिल्ला अस्पताल रुकुमकोट पुर्‍याएका थिए।

डाक्टरहरूको टोलीले आवश्यक आपतकालीन उपचार गरे पनि थप विशेषज्ञ सेवा आवश्यक देखिएपछि उनलाई छिटोभन्दा छिटो नेपालगञ्जस्थित सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरिएको हो। समयमै उपचार नपाए जीवनसमेत जोखिममा पर्ने अवस्था देखिएपछि नेपाली सेनाको NA-066 कलसाइनको हेलिकोप्टर झिकाइएको र त्यसमार्फत बालकलाई नेपालगञ्ज लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालमा भइरहेको उपचारपछि अहिले बालकको अवस्था मध्यम भए पनि पूर्ण निको हुन केहि समय लाग्ने चिकित्सकहरूको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

अचानकको घटनाबाट परिवार दुखित भए पनि समयमै उद्धार तथा उपचारका लागि सहयोग गर्ने सबैलाई प्रतुसका अभिभावकले धन्यवाद व्यक्त गरेका छन्। साथै, यस्ता दुर्घटना पुनः नदोहोरियोस् भनेर घर–आँगनमा साना बालबालिकाको सुरक्षामा थप ध्यान दिन हुन रुकुम पूर्व प्रहरीद्वारा अनुरोध गरिएको छ।