रुकुम पश्चिम/ 📝पुस्तक चन्द
सत्यदेवीलेआत्मादाह गरिन्। स्वधर्म र स्वआदरको रक्षा गर्दै, आफ्नै अस्तित्व जोगाउन अन्तिम बिसौनी रोजिन्। तर महादेवले सत्यदेवीको मृत्युको यथार्थलाई स्वीकार गर्न सकेनन्। सत्यदेवी जहाँ पुगेकी थिइन्, त्यही सत्यबाट महादेव भागिरहे। प्रेम वा स्वार्थ? भक्तिभाव वा अहंकार? उनी आफै अलमल्लमा परे। सत्य उनलाई गुमिसकेको थियो, तर महादेव सत्य गुमाएको स्वीकार्न तयार थिएनन्।
त्यसैले उनी मरेकी सत्यदेवीको लास बोकेर संसारभर भौँतारिन थाले।
देवीको शरीर त निस्सासिएको थियो, तर महादेवले आफ्नो स्वार्थपूर्ण प्रेमलाई जिवितै ठाने।
बिडम्बना त यो थियो कि महादेवका नन्दी–भृङ्गीहरू
जो सधैं “देव-देव” भन्दै उनको हर्याउँदो वाक्पटुता र प्रभावलाई भजनमा बदल्थे
उनले सत्य बोल्ने साहस जुटाएनन्।
“महादेव, सत्यदेवी अब परत आउँदिनन्”
यो कुरा एक जनाले पनि भनिदिने हिम्मत गरेन।
किनभने उनीहरूलाई आफ्नो भलो भजनमा नै देखिन्थ्यो।
सत्तासँग नजिक रहने मै फलिफाप हुने उनीहरूलाई
सत्यभन्दा चाटुकारिता नै प्रिय थियो।
समय आफ्नो गति अनुसार चल्दै गयो।
मरेकी शरीर कुहिनु त प्रकृतिको नियम हो।
सत्यदेवीको लास कुहिंदै गइयो
एक–एक अङ्ग टुक्रिँदै, पतन हुँदै।
तर पनि नन्दी–भृङ्गीहरू जयगानमै रमाए।
जयगान गर्दै–गर्दै उनीहरू महादेवको कन्धाबाट झर्दै गायब हुँदै गए।
अन्ततः एक दिन
सबै अङ्गहरू सकिए, केही बाँकी रहेन।
महादेवले काँध हलुका भएको महसुस गरे।
अचानक उनी झस्किए
कसैको समालेर राखेको सत्य त अब शून्य भएर हराइसकेको थियो।
त्यही वेला महादेवले पछाडि फर्केर हेरे
हिजोसम्म “देव-देव” भनी नाच्ने
नन्दी–भृङ्गीहरू
एकजनासमेत थिएनन्।
संगतमा रहँदा सबै भक्त भएर नजिकै थिए।
सत्य उजागर हुँदा
सबैजना गायब।
त्यो क्षण महादेवले
वर्षौंसम्म एक मरेको लास बोकेर हिँडेको
आफ्नै दयनीय अवस्था देखे
सत्य अस्वीकारको मूल्य यति गम्भीर हुन्छ भन्ने उनलाई तत्काल बोध भयो।
✧ अब राजनीति तिर रूपकको छायाँ ✧
आज हाम्रो राजनीति पनि यही कथाजस्तो भइसकेको छ कि?
सत्य मरेको छ,
तर नेताहरू त्यो सत्यको लास बोकेर
देशका कुनाकाप्चामा सुशासनको भजन गाउँदै घुमिरहेका छन्।
भ्रमको जयगान बजाउने
नन्दी–भृङ्गी मन्त्री, सल्लाहकार र कार्यकर्ताहरू
सत्ताको आँचल छाडेर
अर्को शक्तिमै चिप्लिने तयारीमा हुन्छन्।
देश कुहिँदै जाँदा पनि
कसैले सत्य बोल्ने हिम्मत गर्दैन।
किनकि
सत्ताको स्याहारमा नै
उनको स्वार्थ पलाउँछ।
तर अन्त्यमा
सत्यदेवीका अङ्ग जस्तै
देशका आधारहरु
आर्थिक, सामाजिक, नैतिक
एक–एक गरेर झर्दै जान्छन्।
त्यसपछि
महादेवझैँ नेताहरू पनि
झल्यास्स ब्युँझिनेछन्।
तर त्यसबेला
न त सत्य बाँकी हुनेछ
न त समर्थन।
सत्यलाई अँगाल्नेहरू मात्र अमर हुन्छन्,
सत्यलाई बोझ ठान्नेहरू अन्ततः शून्य बन्छन्।
