काठमाडौं — पत्रकार कमल सरगमले नेकपा (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई जेल हालिएको विषयमा देखिएको सहानुभूति ‘स्वार्थपूर्ण’ भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले हिजो जेल जानु परेका बेला चुप लाग्नेहरू आज अन्याय भएको भन्दै उफ्रिनु नाटक मात्रै भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “यदि उनीमाथि अन्याय भएको थियो भने त्यतिबेलै आवाज उठाउनुपर्ने थियो। निर्वाचन नजिकिँदै गर्दा मात्र रविलाई आवश्यक परेको देखिन्छ।”
सरगमका अनुसार अहिले रवि लामिछानेलाई भेट्न जेल पुगेका धेरैजना नेताहरूको उद्देश्य निर्वाचनमा फाइदा उठाउनु मात्रै हो। “सबैलाई आफ्नो पार्टी ठूलो बनाउनु छ, चुनाव जित्नु छ त्यसका लागि रवि नै विकल्प देखिएको हो,” उनले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यस सन्दर्भमा सापेक्षरूपमा इमान्दार देखिएको उल्लेख गर्दै लेखेका छन्, “प्रचण्डले सुरुदेखि नै ‘प्रतिशोध’को कुरा गर्दै आएका थिए, तर अहिले देखिएका धेरै अनुहारहरू स्वार्थी लाग्छन्।”
रवि लामिछानेमाथि दायर मुद्दाको पुनर्विचार र राज्यले चासो दिनुपर्ने पनि सरगमको माग छ। “हिजो अन्याय भयो भन्नेहरू आज देशको बागडोर सम्हालीरहेका छन्। आफैले बोलेको कुरा स्मरण रहोस्,” सरगमले भने।
आफूलाई ‘रविको झोले’ भन्न नलगाउन आग्रह गर्दै उनले पुनः आफ्नो धारणा राजनीतिक प्रतिशोधकै रूपमा रवि लामिछानेमाथि कारबाही भएको ठहरमा आधारित रहेको स्पष्ट पारेका छन्।
