टोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल जापान आउन लागेका छन्। आगामी डिसेम्बर ७ (शनिबार) टोकियोमा सञ्चालन हुने प्रवास नेपाली सम्पर्क विभाग जापानको दोस्रो राष्ट्रिय अधिवेशन तथा विशेष भेलामा सहभागी हुन अर्याल जापान आगमन हुने जानकारी प्राप्त भएको छ।

आयोजक समितिका अनुसार अर्यालसँगै रास्वपाका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उप-प्रमुख अर्जुन अधिकारीसमेत सो कार्यक्रममा सहभागी हुन जापान आउने कार्यक्रम तय भएको छ। दुबै नेताहरूले अधिवेशनको उद्घाटन तथा जापानवासी नेपाली समुदायलाई सम्बोधन गर्नेछन्।

अधिवेशन टोकियोको शिन्जुकुस्थित दाईवा बिल्डिङ (Daiva Building, 西新宿1-14-11, 6th Floor) मा हुने भएको छ। प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानभर रहने नेपालीहरूलाई कार्यक्रममा सहभागिता जनाई नेतृत्वसँग प्रत्यक्ष भेटघाट, छलफल तथा सुझाव राख्न आग्रह गरेको छ।

आगामी कार्यक्रमले प्रवासी नेपाली तथा रास्वपाबीच अन्तरक्रिया, साझेदारी, सुझाव संकलन तथा भविष्यको योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले अपेक्षा राखेको छ।

यससँग सम्बन्धित कार्यक्रमबारे जानकारी दिँदै प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिलेन्द्र जोशीले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्।