अमेरिकाले डाइभरसिटी भिसा (DV) कार्यक्रमलाई अस्थायी रूपमा स्थगित गरेको छ। अमेरिकी प्रशासनले सुरक्षा तथा आप्रवासन नीतिको पुनरावलोकन आवश्यक भएको भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको जनाएको छ।
डाइभरसिटी भिसा कार्यक्रममार्फत हरेक वर्ष विभिन्न देशका नागरिकलाई लटरी प्रणालीमार्फत अमेरिका स्थायी बसोबास (ग्रीन कार्ड) को अवसर प्रदान गरिँदै आएको थियो। यस कार्यक्रम अन्तर्गत नेपालसहित कम आप्रवासन दर भएका मुलुकका हजारौँ नागरिकले आवेदन दिँदै आएका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका केही व्यक्तिहरूको पृष्ठभूमि जाँच र सुरक्षासम्बन्धी विषयमा थप कडाइ आवश्यक देखिएकाले अस्थायी रूपमा स्थगन गरिएको हो। कार्यक्रम कहिलेसम्म रोकिरहने भन्ने विषयमा भने स्पष्ट समयसीमा सार्वजनिक गरिएको छैन।
यस निर्णयसँगै डीभी कार्यक्रममार्फत अमेरिका जाने तयारीमा रहेका लाखौँ आवेदक अन्योलमा परेका छन्। विशेषगरी चालु तथा आगामी वर्षका आवेदकहरू प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।
अमेरिकी प्रशासनले भविष्यमा कार्यक्रमलाई नयाँ नियम र प्रक्रियासहित पुनः सञ्चालन गर्न सकिने संकेत भने दिएको छ।
