कर्णाली प्रदेश
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशकी संयोजक बिमला के.सी.ले व्यस्त राजनीतिक तथा सामाजिक जिम्मेवारीका बीच पनि डिग्री तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्न सफल हुनुभएको छ।
हाल पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा विभिन्न राजनीतिक जिम्मेवारीमा सक्रिय रहँदै आउनु भएकी संयोजक के.सी.ले सीमित समयको सदुपयोग गर्दै अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको थियो। उहाँले “व्यस्त जिम्मेवारीका बीच दिइएको डिग्री परीक्षामा प्रथम श्रेणी ल्याएर पास हुन पुगेछु” भन्ने प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ।
संयोजक के.सी.को यो सफलतालाई कर्णाली प्रदेशभित्रका राजनीतिक वृत्त, शिक्षाप्रेमी तथा युवाहरूले प्रेरणादायी उपलब्धिका रूपमा लिएका छन्। राजनीति र अध्ययन दुवैलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको प्रतिक्रिया पार्टी कार्यकर्ता तथा समर्थकहरूबीच सकारात्मक सन्देशका रूपमा फैलिएको छ।
राजनीतिक जिम्मेवारीसँगै शैक्षिक उन्नयन पनि आवश्यक रहेको बताउँदै संयोजक के.सी.ले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्नुभएको छ। “राजनीतिमा रहेर पनि अध्ययनलाई निरन्तरता दिन सकिन्छ भन्ने विश्वासका साथ मैले मेहनत गरेँ,” उहाँको भनाइ छ।
नेकपा कर्णाली प्रदेश समितिका पदाधिकारी तथा कार्यकर्ताहरूले संयोजक के.सी.लाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको सफलताले पार्टीभित्र अध्ययनशील, अनुशासित र जिम्मेवार नेतृत्व विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
यस उपलब्धिले विशेष गरी कर्णाली प्रदेशका महिला, विद्यार्थी तथा राजनीतिक क्षेत्रमा सक्रिय युवाहरूलाई शिक्षा र जिम्मेवारीलाई सन्तुलनमा राख्दै अघि बढ्न सकिने स्पष्ट सन्देश दिएको उनीहरूको भनाइ छ।
