- रुकुम पश्चिम / गोपाल खड्का
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११, रानिचौरमा रहेको ज्ञानकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीहरू शौचालय पुनःनिर्माण नहुँदा गम्भीर समस्यामा परेका छन्।
दुई वर्षअघि आएको भूकम्पले विद्यालयको शौचालय भत्काएपछि अहिलेसम्म पुनःनिर्माण नहुँदा विद्यार्थीहरू खेतबारी तथा जंगलतिर जान बाध्य भएका हुन्। करिब ८/९ वर्षअघि निर्माण गरिएको पुरानो शौचालय वर्षा र क्षतिका कारण जीर्ण बन्दै गएर २०८० कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्णरुपमा भत्काएपछि स्थिति झन गम्भीर बनेको विद्यालयकी प्रधानाध्यापक विनिता खड्काले बताउनुभयो।
“विद्यालयमा शौचालय छैन, कहिले खोला जान्छु, कहिले खेतबारीतिर जान्छु,” एक विद्यार्थीले दुखेसो सुनाए। शौचालय नहुँदा विद्यार्थी मात्र होइन, शिक्षकहरू समेत सास्ती खेपिरहेका छन्। शिक्षक तथा विद्यार्थीले कहिलेकाहीँ नजिकका स्थानीयको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो।
भूकम्पपछि विभिन्न संघ–संस्थाको सहयोगमा त्रिपालको अस्थायी शौचालय निर्माण गरिएको भए पनि अहिले त्यो प्रयोगयोग्य नभएको विद्यालयको भनाइ छ। शौचालय अभावकै कारण कतिपय विद्यार्थी विद्यालय आउन नमान्ने गरेको प्रधानाध्यापक खड्काले बताइन्।
शौचालय पुनःनिर्माणका लागि स्थानीय सरकार तथा विभिन्न संस्थासँग पटक–पटक गुहार्दा पनि सहयोग नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम विकले गुनासो गर्नुभयो। “वडा र पालिकामा गुहार्दा पनि कसैले वास्ता गरेन,” विकले आरोप लगाउनुभयो।
कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा तीन वर्षअघि निर्माण गरिएको ३ कोठे भूकम्पप्रतिरोधी भवन भने सुरक्षित रहेको विद्यालयले जनाएको छ। सो भवनका एक कोठामा कार्यालय र बाँकी दुई कोठामा अध्यापन हुँदै आएको छ।
शौचालय पुनःनिर्माण नहुँदा विद्यार्थीको स्वास्थ्य र पठनपाठन दुवै प्रभावित बन्दै गएको विद्यालयले जनाएको छ।
